काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा नाराबाजी गरिरहेकाे छ । कहिले रोष्ट्रम अगाडि नाराबाजी गरिरहेका छन् भने कहिले पलेंटी कसेर बसेका छन् ।
सत्तापक्षका सांसद बाेलिरहदा नारा लगाउने गरेका रास्वपा सांसद प्रतिपक्ष बाेल्दा भने नारा लगाइरहन्छन् । रास्वपा सांसदहरुकाे अवराेधका बाबजुद पनि संसद बैठकमा बजेटमाथिको छलफल जारी छ ।
एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका उनीहरु माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्न सुरु गरेपछि भने शान्तपूर्वक बसिरहे । उनीहरुलाई मर्यादापालकले घेरेर राखेका छन् ।
आइतबार जस्तै सोमबार पनि सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिए ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेत रोष्टममा पुगेर बोलिरहेका बेला नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले नियमापत्ति गरे ।
थापाले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ । माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’
थापाले यति बोलेपछि रास्वपा सांसदहरुले फेरि नारा लगाउन थाले । तर सभामुख घिमिरेले थापाको कुराको ध्यानाकर्षण भएको बताए र शक्ति बस्नेतलाई आफ्ना भनाइ जारी राख्न भने । बस्नेत फेरि बोल्न सुरु गरे । रास्वपा सांसदहरु भने फेरि चुपचाप बसे ।
यसबिचमा रास्वपा सांसद पलेटि कसेर बसीरहेका बेला सुमना श्रेष्ठ याेगआसनमा देखिइन ।
रोष्टममा पुगेर लालविर चाैधरी बाेलिरहेका बेला एमालेका सांसद दामाेदर पाैडेलले नियमापत्ति जनाए । उनले भने, ‘ सम्माननिय सभामूखकाे आसनतर्फ जुत्ता चप्पल खाेलेर ध्यान गरेजस्ताे गरेर याे विराेध गर्ने याे चाइ संसदिय मर्यादा भएन्, संसदिय मर्यादा कायम गर्नका लागि म सम्माननिय सभामुखकाे ध्यानाकर्षण गराउन चाहान्छु ।’
यसैबिचमा रास्वपाका नेताले नाराबाजी गरीरहे । उपसभामुख इन्दिरा रानाले पाैडेलको कुराको ध्यानाकर्षण भएको बताइन र लालबिर चाैधरीलालाई आफ्ना भनाइ जारी राख्न भनिन । चाैधरी फेरि बोल्न सुरु गरे । रास्वपाका सांसद फेरी चुपपचा बसे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै सबै प्रतिपक्षीले बैठक अवराेध गरिरहेका थिए ।
तर, शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने सत्तापक्षसँग दुई बुँदे सहमति गरी बैठक सञ्चालन गर्ने सहमति गरेपछि आइतबारदेखि संसदमा रास्वपा र राप्रपामात्रै विरोधमा छन् ।
विरोधकाबीच सभामुखले बैठक सञ्चालन गरेपछि राप्रपाले आइतबार र साेमबार बहिष्कार गरेको छ । रास्वपा भने वेल घेराउमै छ ।
संसद्मा रास्वपाका सांसदहरूले ‘हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको ? जनताले छ सुनेको’ भन्ने नारा लगाइरहेका छन् ।
रास्वपाकाे मानव तस्करलाई कारबाही गर भन्दै नारा लगाएपछि कांग्रेस सांसद सुशीला थिङले नियमापत्ति जनाइन ।
उपसभामख तर्फ संकेत गर्दै थिङले भनिन, ‘मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले पाँच पाँच जना व्यक्तिलाई हस्ताक्षर गराएर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो त्यो कुरमा स्पष्ट पारियोस् ।’

