लोडसेडिङ भयो भन्दै विदेशबाट फोन, लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हाे : ऊर्जामन्त्री

लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन ।

spot_img
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले भने,  ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने।’
उनले नेपालकै विभिन्न ठाउँमा बत्ती गएको भनेर फोन आएपछि बुझ्दा ती ठाउँहरूमा बत्ती नगएको पाइने बताए ।
उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताए । उनले बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको र गत वर्ष पनि ७ सय घण्टासम्म विभिन्न पटक विद्युत गएको दाबी गरे ।
कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको बताए । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गरे ।
मन्त्री खड्काले भने, ’बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन ।’

सम्बन्धित समाचार

ताजा समाचार