भक्तपूर । बिस्का (बिस्केट) जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । साे ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।
नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छाेरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए ।बुद्धकृष्ण बाग श्रेष्ठका दाई कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि, बुद्धकृष्ण नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।
जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो नटुचा (सुइरो)ले जिब्रो छेडिन्छ । जात्राअघि जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।
जिब्रो छेड्नुअघि कर्मी नाइकेले देवीदेवताको विभिन्न देवगणको पूजा गरी पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिं बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन ।
विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने र छेडिसकेपछि पनि अर्धचन्द्राकार महादीप बोकेर बोडे नगर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । सुइरो निकालेपछि घाउ छिटो निको होस् भनेर महालक्ष्मी मन्दिरको माटो जिब्रोमा दलिन्छ। यो माटोले जिब्रोको घाउ निको पार्न औषधिको काम गर्छ भन्ने जनविश्वास छ।
जिब्रो छेडाएर नगर परिक्रमा गराए मुलुकमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।
बिस्केट जात्राको अवसरमा चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्नेछन् ।
हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।
सांस्कृतिक एवम ऐतिहासिक महत्व बोकेको बिस्का (बिस्केट) जात्रा नयाँ वर्षको अवसरमा मध्यपुरथिमिमा धूमधामसाथ मनाइन्छ । पूरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै भक्तपूरमा बिस्का जात्रा नौ दिन आठ रातसम्म मनाइन्छ । बिस्का जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरू हुन्छ ।

