अन्नपूर्ण हिमाल आधार शिविर पर्यटकले भरिभराउँ

spot_img

म्याग्दी । वसन्त ऋतुको आरोहण शुरूभएसँगै अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकले भरिभराउँ भएकाे छ ।

समुद्री सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको यो आधार शिविर आरोही र पर्यटक दुवैका लागि आकर्षक गन्तव्य बनेकाे छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने  आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रदर्शक, मजदुर र आन्तरिक पर्यटकका कारण आधार शिविर भरिभराउ बनेको हाे ।

आरोहीहरूले आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसोबास गरिरहेका छन् भने घुमघामका लागि आन्तरिक पर्यटकहरूको पनि आधार शिविरमा आगमन सुरु भएको छ ।

मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको थप दुई दिनको पैदल यात्रामा आधार शिविरमा पुगिन्छ ।

आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको छ । कम समय र सहज यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार