काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पिएन बन्याे । फाइनलमा लुम्बिनीले साविक उपविजेता समेत रहेको सुदूरपश्चिममाथि ६ विकेटको एकपक्षिय जित निकाल्याे ।
लगातार दोस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले फेरि उपविजेतामै चित्त बुझाउनुपर्याे । लिग चरणमा लगातार ६ खेल जितेर पहिलो क्वालिफायर पनि जितेको सुदूर दाेस्राेपटक पनि फाइनलमा चुक्यो ।
लिग चरणमा चौथो भएर इलिमिनेटर अनि दोस्रो क्वालिफायर लगातार जितेको लुम्बिनीले फाइनलमा प्रतियोगिताकै उत्कृष्ट लयमा देखिएको टोलीमाथि एकपक्षीय जित निकाल्यो । गत संस्करण हाइ स्कोरिङ फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक लो-स्कोरिङ खेलमा पराजित हुन पुग्यो ।
ब्याटिङमा चुकेकाे सुदुरपश्चिम
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम ८५ रनमा अलआउट भयाे । लुम्बिनीले उक्त लक्ष्य पूरा गर्न धेरै समय पनि लगाएन, ९ ओभरमा लक्ष्य पूरा गर्यो ।
फाइनल खेलमा सुदूरपश्चिम पूर्णरूपमा एउटै पक्षमा चुक्यो, त्यो थियो ब्याटिङ । लुम्बिनीले शानदार बलिङको लय कायमै राख्दा सुदूरले इतिहासकै खराब ब्याटिङ गर्यो ।
लुम्बिनीले दुई संस्करणमा भएका दुई खेलमा बेहोरेको हारको बदला लिँदै सुदूरपश्चिमलाई लगातार दोस्रोपटक उपाधिबाट वञ्चित गरायो ।
सुदुरले यस संस्करणमा जितेका ७ खेलमध्ये ५ खेल पहिले ब्याटिङ गरेर नै जितेकोले फाइनलमा सोही अपेक्षा राखेपनि पूरा गर्न सकेन । यो संस्करण ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले फाइनलमा भने राम्रो ब्याटिङ गर्न सकेन । ब्याटरहरू सम्हालिएर खेल्न नसक्नु सुदूरपश्चिमको हारको मुख्य कारण बन्यो ।
अर्कोतर्फ टस जितेर बलिङ रोजेको अवस्थामा सुदूरले लुम्बिनीलाई मध्यम योगफलसम्म रोकेर रन चेज गर्न सक्ने अवस्था बन्न सक्थ्यो । ब्याटिङ गरेको अवस्थामा साँझमा डिउ पनि आउने भएकाले डिफेन्ड गर्नुभन्दा चेज गर्नु नै उपयुक्त हुन सक्थ्यो ।
सुदूरले टस जितेर त्यसको राम्रो फाइदा उठाउन नसक्नु नै घातक साबित भयो ।
टोलीका लागि सर्वाधिक रन बनाएर विनोद भण्डारी स्वीप शट खेल्ने क्रममा स्कूप पनि मिसाउन खोज्दा बल क्याच भयाे । उनी खाता नै नखोली आउट भए ।
त्यसपछि शेल्डन ज्याक्सन पनि १ रनमै आउट भए र पाँचौं ओभरमा आरिफ शेख पनि स्वीप खेल्ने धुनमा ६ रनमा आउट भएपछि सुदूर पावरप्लेमै ३ विकेट गुमाएर संकटमा थियो ।
त्यसपछि दीपेन्द्र र इशान पाण्डे मिलेर संयमित साझेदारी बनाइरहेका थिए । ११औं ओभरमा दीपेन्द्र पनि सम्हालिन सकेनन् । विपक्षी कप्तान रोहित पौडेलको बलमा ठूलो शट खेल्ने चक्करमा लङअनमा क्याच दिए । लगत्तै ब्याटिङमा आएका दिपक बोहराले पनि आउने बित्तिकै ठूलो शट खेले र क्याचआउट भए । ९ ओभरको खेल बाँकी नै छँदा क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्न खोज्नु दिपककाे निकै नै खराब निर्णय हुन पुग्याे ।
त्यसलगत्तै ब्याटिङमा आएका पुनित मेहरा पनि पहिलो बलमै एलबीडब्लु धरापमा फसे । त्यसपछि भने सुदूरपश्चिमले पुनरागमन गर्नै सकेन ।
१५औं ओभरमा हर्मीत पनि लगातार दोस्रो छक्काको प्रयासमा क्याचआउट भए भने ५० बलमा ३३ रन बनाएर खेलिरहेका इशान पनि ठूलो शटकै चक्करमा आउट भए ।
सुदुरकाे खराब रेकर्ड
सुदूरपश्चिमले एनपीएल इतिहासमै आफ्नो सबैभन्दा कम योगफल बनाएको थियो । ८५ रनको उक्त योगफल एनपीएलै चौथो कम योगफल हो ।
यस्तै सुदूरले पावरप्लेको समाप्तिमा ३ विकेट गुमाएर २० रन बनायाे । सुदूरकाे फाइनल सिजनकै सबैभन्दा खराब प्रदर्शन बन्यो ।
यस्तै बलिङ गर्ने क्रममा पहिलो ओभरमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन खर्चिए । उक्त रन एनपीएलको कुनै पनि इनिङको पहिलो ओभरमा आएको सबैभन्दा धेरै रन हो । यस्तै प्रतियोगिताकै दोस्रो महँगो ओभर समेत बन्यो ।
लुम्बिनीकाे अन्तिम देखि च्याम्पियनसम्मको यात्रा
पहिलो सिजनमा लुम्बिनी लायन्स अन्तिम स्थानमा रहेको थियो । पहिलाे संस्करणमा लिग चरणमा जम्मा १ खेल मात्र जित्दै २ अंक जोडेर सिजनकाे पूछारमा रहेको लुम्बिनीले दोस्रो सिजन ‘रोलरकोस्टर जर्नी’ तय गर्दै च्याम्पियन सम्मको यात्रा तय गर्यो ।
यस क्रममा लुम्बिनीले पहिलो खेलमै चितवन राइनोजलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगेको थियो । तर पोखरा एभेन्जर्सलाई हराएर दोस्रो जित हात पारेपछि लुम्बिनीले फेरि जितको लय लियो । त्यसपछि भने लुम्बिनीले च्याम्पियन बन्दासम्म खेलेका कुनै पनि खेल गुमाएन । यस क्रममा लुम्बिनीले लिगमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लिग चरणमा चौथो भएर प्लेअफमा छनोट भयो । लुम्बिनीले निकै नै तारीफयाेग्य पुनरागमन गर्यो
सुदूरपश्चिम रोएल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सपछि प्लेअफमा छनोट हुने लुम्बिनी चौथो टोली बनेको थियो । लिगमा चौथो भएर प्लेअफ पुगेको लुम्बिनीले सबैभन्दा धेरै ३ खेल खेल्नुपर्यो ।
लिगमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको सुदूरपश्चिमलाई लुम्बिनीले पराजित गरेर च्याम्पियन बन्यो ।
यस पटक लुम्बिनीको बलिङ निकै गज्जबले चल्यो । प्लेअफको तीन खेलमा त लुम्बिनीले विपक्षी टिमका ब्याटरहरुलाई खुलेर खेल्न समेत दिएनन् । तीनै खेलमा लुम्बिनीले विपक्षीलाई अलआउट गर्यो ।
फाइनलमा पनि लुम्बिनीको उत्कृष्ट बलिङले निरन्तरता पायो । कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट अनि रुबेन ट्रम्पलम्यान र शेर मल्लको घातक बलिङमा सुदूरपश्चिम ८५ रनमै अलआउट भयो । ट्रम्पलम्यान र शेर मिलेर सुदूरशको टप अर्डर ध्वस्त पारिसकेका थिए ।
रोहितलाई कारदेखि बाइकसम्म पुरस्कार
प्रतियोगिता सर्वोत्कृष्ट नेपाली देखि विदेशी खेलाडीसम्मको अवार्ड लुम्बिनीका खेलाडीले पाए ।
कप्तान रोहितले कार र बाइक पुरस्कार जिते । ब्याटिङमा २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट पनि लिएका रोहित उत्कृष्ट नेपाली खेलाडी बन्दे जेइको जे फाइभ कार जित्न सफल भए । यस्तै उनी बेस्ट ब्याटर समेत घोषित भए । उनले पल्सर मोटरबाइक पुरस्कार पनि जिते ।

रोहित सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहँदै नेपाली खेलाडी मध्ये धेरै रन बनाउने खेलाडीको सूचीमा अघि रहे ।
यसैगरी लुम्बिनीका नामिबियन बलर रुबेन ट्रम्पलम्यान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ लाखको चेक पाए । फाइनलमा पनि उनी ‘प्लेअर अफ दि म्याच’ घोषित भएका थिए । उनले लुम्बिनीका लागि १० खेल खेल्दा १५ विकेट लिए ।
यस्तै लुम्बिनीकै शेर मल्ल इमर्जिङ प्लेअर घोषित हुँदै पल्सर मोटरबाइक प्राप्त गरे । उनले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहरासँगै संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।
सन्दीप बेस्ट बलर घोषित हुँदै पल्सर मोटरबाइक जित्न सफल भए । अविनाश बोहराले भने इनर्जेटिक प्लेअर घोषित हुँदै नगद २ लाखको चेक पाए ।

