आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा आज अपरान्ह ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डुले राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल कप्तान रहेको टोली लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको थियो । त्यसैले यो खेल लुम्बिनीका लागि बदला लिने अवसर पनि बन्नेछ।

अघिल्लो खेलमा पराजित भएका यी दुवै टोली आज जितको खोजीमा हुनेछन् । ३ खेल खेलेको काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको विजयले उत्साह थपेको थियो । तर, त्यसपछि सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्ससँग ५ विकेटको लगातार हार भोग्नुपर्‍यो । काठमान्डुले पहिलाे खेलयता लय गुमाउँदै गएको देखिन्छ । आजको खेलमा हार बेहोरे काठमान्डुका लागि प्लेअफ सम्भावना कठिन बन्न सक्छ ।

यस्तै,  २ खेल खेलेको लुम्बिनीले पहिलो खेलमा चितवन राईनोजमाथि ६ विकेटको विजय पाए पनि त्यसपछि कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्सका मार्क वाटले शानदार शतक बनाएपछि ‘आउटप्लेड’ भएको थियो । उक्त हारबाट माथि उठ्ने प्रयास लुम्बिनीको हुनेछ ।

अंकतालिकामा काठमान्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो  स्थानमा छ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार