नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज मंसिर १ देखि सुरु हुँदै

नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो यस प्रतियोगिताको पुरस्कार १ करोड १० लाख रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडीहरूलाई कार, बाइकजस्ता आकर्षक पुरस्कार छन् ।

spot_img

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज मंसिर १ देखि सुरु हुँदैछ । मंसिर २७ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन । सिजन २ मा पनि आठ टिम सहभागी छन् । जसमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । जनकपुर पहिलो सिजनको विजेता हो भने सुदूरपश्चिम उपविजेता हो ।

उद्घाटन खेलमा दिउँसो ४ बजे डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्नेछन् । यो खेल मार्की खेलाडीका रूपमा आसिफ शेख भर्सेस करण केसी हुनेछ । उक्त उद्घाटन खेलका सबै टिकटहरु भने सोल्ड आउट भैसकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटा फ्लडलाइटहरू समेत जोडिएको छ । फ्लडलाइट बालेर त्रिवि क्रिकेट मैदानमा पहिलोपटक रातीपनि खेल हुने भएका छन् । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।

दिनमा दुईवटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरु हुनेछन् । प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरु हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ ।
एनपीएलका सम्पूर्ण खेलहरू भारतीय च्यानल स्टार स्पोट्र्टससँगै नेपाली टीभी कान्तिपूर म्याक्स बाट पनि हेर्न पाइने जानकारी क्यानले दिएको छ ।

यस्तै एनपीएलका सम्पूर्ण खेलहरू ‘डिसहोम गो’ एपमा लाइभ हेर्न सकिनेछ । दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ । क्यानले तोकेको मूल्यअनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिसहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडिल इस्टका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ ।

एनपीएलका खेलहरु त्रिवि क्रिकेट मैदानबाटै हेर्नका लागी खल्ती एप मार्फत भीआईपी र साधारण प्यारापिटतर्फको टिकट काटेर हेर्न सक्नुहुन्छ । खल्ती एप खोल्नुभयो भने त्यहाँ एनपीएल भन्ने मेनु देखाउँछ, जहाँ टिकट उपलब्ध भए तपाईंले सजिलै काट्न सक्नुहुन्छ । शनिबार हुने खेल हेर्न साधारण प्यारापिटको ५ सय र भीआईपीको १५ सय तोकिएको छ । त्यसबाहेकका लिग चरणका अन्य खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार कायम गरिएको छ । तर, प्लेअफ र फाइनलका लागि भने महँगो पर्ने छ । यी खेल हेर्न साधारणतर्फ १ हजार र भीआइपीतर्फ २ हजार तिर्नुपर्ने छ । पूरै सिजनका पैसा एकैपल्ट तिर्छु भन्नेहरूले १५ हजार तिर्दा सबै खेल हेर्न पाउनेछन् ।

नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो यस प्रतियोगिताको पुरस्कार १ करोड १० लाख रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडीहरूलाई कार, बाइकजस्ता आकर्षक पुरस्कार छन् ।

सम्बन्धित समाचार

ताजा समाचार