काठमाडौं— सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको एशिया तथा पूर्वी एशिया–प्यासिफिक (EAP) संयुक्त छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हाे।

ओमानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १४२ रनको मध्यम लक्ष्य दिएको थियो। नेपालको लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जाेडे भने दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए गुल्शन झाले उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गर्दै ६ बलमा २० रन जाेडे ।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतलाई नेपालका बलरहरूले दवावमा राखे। कुवेती टोली १८.१ ओभरमै ८३ रनमा अलआउट हुन पुग्यो। कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

त्यसैगरी कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १-१ विकेट लिए ।
यस जितसँगै नेपालले समूह चरणमा पहिलो २ अंक जोडेको छ। समूह–बी मा रहेको नेपालले अब जापान, हङकङ, मलेसिया र आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्न बाँकी छ।

