काठमाडौँ । टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । अस्ट्रेलियाको डार्बिनस्थित नर्दन टेरेटोरीमा जारी पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै दोस्रो जित निकालेकाे हो।
आज भएकाे खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलवर्न २० ओभरमा १०६ रनमा अलआउट भयो ।
बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए । उनले चार ओभरमा १७ रन मात्र दिए ।

यस्तै कुशल भुर्तेलले २ विकेट लिँदा २० रन खर्चिए ।
पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा १३९ रनकाे लक्ष्य दिएकाे थियाे । कुशल मल्लले सबैभन्दा बढी २९ रन बनाए । कप्तानको भूमिकामा रहेका दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन जोड्न सके । मेलवर्न विरूद्धकाे खेलमा आसिफ शेखसहित कप्तान रोहितकुमार पौडेल, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने टोलीमा थिएनन् ।

बलिङमा मेलवर्नका फर्ग्युस ओ’निल, कोलुम स्ट, लाच्लान बाङ र माइकल आर्चरले २-२ विकेट लिए ।
यससँगै नेपालले सिरिजका पाँच खेल खेल्दा तीन खेलमा पराजय र दुई खेलमा लगातार जित निकालेको छ ।
नेपालले मंगलबार होबार्ट हुरिकेन्सलाई ६६ रनले हराएको थियो । सुरुवाती तीन खेलमा भने नेपाल पराजित भएको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ ।

