काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । एएफसी एसियन कप छनोटका दौरान कप्तानको विषयमा सिर्जित विवादका कारण वाइल्डले केही दिनअघि इमेलमार्फ राजीनामा दिएका हुन् ।
गत जेठ २२ मा नियुक्त भएका वाइल्डले दुई महिना पनि पूरा नहुन नपाउँदै राजीनामा दिएका छन् ।
यसअघि एन्फाले एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा ‘घटना विवरण’ दिन वाइल्डलाई पत्राचार गरेको थियो । त्यसकाे जवाफमा वाइल्डले राजीनामा दिएका हुन् । तर राजीनामा पत्रमा उल्लेखीत अन्य विषयका बारेमा भने खुलाइएको छैन ।
एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले उनी फर्केपछि मात्र राजीनामाको विषयमा निर्णय हुने एन्फाले जनाएकाे छ ।
उज्वेकिस्तानमा भएको एसियन कप छनोटका दौरान कप्तान छनोटको विषयमा मुख्य प्रशिक्षक र नेपाली टिम व्यवस्थापनबीच विवाद भएको थियो ।
छनोटको महत्वपूर्ण तथा निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एसियन कपमा छनोट हुन असफल भएको थियो । पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको थियो । यससँगै एसियन कपमा पहिलो पटक पुग्ने अवसर गुमाएको नेपाली टिमभित्रको विवाद छताछुल्ल भएको थियो ।
त्यसपछि वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।
नेपाल फर्किएपछि टिम व्यवस्थापनले प्रशिक्षकका कारण कप्तानको विषयमा विवाद भएको दाबी गरेको थियो ।
एन्फा पदाधिकारीले छनोटको पहिलो खेलमा रेनुका नगरकोटीको नाम कप्तानको रुपमा एएफसीलाई पठाएको थियो । तर अन्तिम समयमा मुख्य प्रशिक्षक वाइल्डले कप्तानकाे नाम सार्वजनिक गर्दा सावित्रा भण्डारीकाे नाम दिएकाे दाबी गरेका थिए । यस विषयमा प्लेयर बक्समै एन्फा पदाधिकारी र मुख्य प्रशिक्षकबीच तिक्तता देखिएको थियो ।
तर कप्तानको विषयमा वाइल्डलाई नेपालमै दबाब दिइएको र उनले त्यसलाई आफ्नो काममा हस्तक्षेप भएकाे बताएका थिए ।
एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दा उज्बेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुकेर एसियन कपमा छनोट हुन सकेको थिएन ।

