काठमाडौं। एसिसी पुरुष यु–१६ इस्ट जोन कपको फाईनल खेल सिंगापुरलाई २ विकेटले हराउदै नेपालले यू-१६ इस्ट जोन कप उपाधि रक्षा गरेको छ। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।
यस खेलमा नेपालको तर्फबाट जोय थापाले सबैभन्दा बढी २४ बनाएका थिए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए। नेपालले ५८ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो।
जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए। यसैगरी नेपालका तर्फबाट शिवान्स बजगाईं २०, शुभव खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रन बनाएका थिए।
सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन्। उनले ६ ओभरमा जम्मा १८ रन दिएका थिए। युवान पाण्डेले २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिएका थिए।
नेपालले यो प्रतियोगितामा एक खेल पनि नहारी कपको उपाधी हासिल गरेकाे हो ।

