लिभरपुलले डियोगो जोटाको सम्मानमा जर्सी नं २० लाई अवकाश दिने

spot_img

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको जर्सी नम्बर २० लाई अवकाश दिने घोषणा गरेको छ । अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन ।

डियोगो जोटाले कार दुर्घटनामा  ज्यान गुमाएका थिए ।

क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’

लिभरपुलमा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको प्रिमियर लिगकै उपाधि पनि जितेका छन् । पोर्चुगलका लागि पनि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग जितेका छन् ।

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएको हो । यस घटनापछि समग्र फुटबल क्षेत्र शोकमा छ ।

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल खेल्न थालेका जोटाको करियर सुरुवात पासोस डे फेरेराको यूथ एकेडेमीबाट भएको थियो । सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनले पोर्टोमा लोनमा खेले, त्यसपछि वुल्भ्स हुँदै लिभरपुल आइपुगेका थिए ।

लिभरपुलले अहिलेसम्म कुनै पनि खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश दिएको थिएन।

सम्बन्धित समाचार

ताजा समाचार