काठमाडाैँ । मलेसियालाई हराउँदै नेपाल एसिसी मेन्स इस्ट जोन कप २०२५ को फाइनलमा पुगेकाे छ ।
सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ५ चौका र ५ छक्का बनाएर नटआउट हुँदै ५९ रन बनाए । यस्तै, शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए ।
प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए । मलेसियाका नागिनिश्वरमले १ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओभर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।
मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए । अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
बलिङमा नेपालका अभय यादवले ४, शुभम् खनालले ३ र सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले १/१ विकेट लिए ।
प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।
यसअघि नेपालले समूह चरणमा लगातार चार खेलमा जित निकालेर समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

