काठमाडौं । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ काे फाइनलमा पुगेकाे छ ।
आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएकाे क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाब किंग्सले फाइनलमा पुगेकाे हाे । बेंगलुरु भने गत बिहीबार पञ्जाबलाई क्वालिफायर १ मा हराएर सोझै फाइनलमा पुगिसकेको छ ।
यससँगै पञ्जाब ११ वर्षपछि फाइनलमा पुगेको पञ्जाबले यसअघि २०१४ सिजनको फाइनल खेलेको थियो । बेंगलुरु भने चौथोपटक फाइनल खेल्दैछ । यसअघि उनीहरू २००९, २०११ र २०१६ मा उपविजेता बनेका थिए।
अब फाइनल खेल जुन ३ (भाेली मंगलबार) मा पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिनेछ ।
क्वालिफायर–२ मा २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमै पूरा गर्यो ।
कप्तान श्रेयस अयरले ४१ बलमा ५ चौका र ८ छक्का हान्दै ८७ रन बनाउँदै नटआउट रहे । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै नेहल वधेराले ४८ र जोश इन्ग्लिसले ३८ रन बनाए । अश्विनी कुमारले दुई विकेट लिए ।
टस हारेर ब्याटिङ गरिरहेका मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४–४४ रनको इनिङ्स खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यसपटककाे फाइनलमा दुई उपाधिविहीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुने छन् ।
यता पञ्जाबका कप्तान श्रेयस अय्यरले तीन फरक टिमलाई आईपीएलको फाइनलमा पुर्याउने कीर्तिमान पनि बनाएका छन् । उनले सन् २०२० मा दिल्ली क्यापिटल्स, २०२४ मा कोलकाता नाइट राइडर्स (उपाधि विजेता) र अब २०२५ मा पञ्जाब किंग्सलाई फाइनल पुर्याएका हुन् ।
लिग चरणमा दुवै टिमले १४ खेलमध्ये ९ जित निकालेका थिए भने ४ हार बेहोर्दा १ खेल वर्षाका कारण नतिजाविहीन भयो ।

