काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएपछि भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ स्थगित भएकाे छ ।
भारत र पाकिस्तानबीच सैन्य तनाव बढ्दै गएपछि, बढ्दो सुरक्षा चिन्ताका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल सुरक्षा समस्याका कारण बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
उक्त स्थान पठानकोटबाट १०० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ, जहाँ हवाई आक्रमणको अलर्ट जारी गरिएको थियो ।
आईपीएलको यस सिजन लिग चरणका १२ खेल बाँकी छन् ।

