नेकपा एसका सांसदकाे प्रश्नमा प्रधानमन्त्रीकाे आक्रोश-यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र ?

spot_img

काठमाडाैँ । प्रतिनिधिसभामा सांसद मेटमणि चौधरीले साेधेकाे प्रश्नकाे प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशित हुँदै विकास निर्माणको काम स्वास्थानीको कथाजस्तो नभएको बताए ।

प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेशन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेशन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन् ।

‘रेलवे स्टेशन बेलुका भनेर रातभरिमा विहानसम्म तयार हुने हो र ? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र,’ उनले प्रतिप्रश्न गरे ।

उनले अगाडि जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए ।

‘नेपालमा रेल ल्याउन सम्भव छ भनेर, फेरि पटरी विछ्याएर, रेल किनेर ल्याएर, जनकपुरमा चलाउन लगाइएको छ । चल्दैन, चल्दैन भनेर गफ गर्नेहरू पनि थिए । माननीयज्यु त्यतिबेला हुनुहुन्थेन होला । थिए भने त्यतिबेला पनि यी प्रश्न सोधिएका थिए होला । व्यंग्य गर्ने माननीयहरूले पछि त्यसको जस लिन थाले,’ उनले भने।

उनले विकास आजको लागि नभएर पछिसम्मका लागि हुने भएकाले धैर्यता अपनाउनुपर्ने बताए ।

उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाका विषयमा उठेकाे प्रश्नमा समेत काम भइरहेकाेले, भएकाे कामकाे जस दिन सुझाव दिए । उनले रंगशाला बनाउन ३०० दिनको समय तोकिए पनि खरिद प्रक्रिया लगायतका काममा  आधा समय गएको बावजुद पनि रंगशाला अन्तिम चरणमा रहेको बताए ।

‘रंगशाला त बन्दैछ त । यसमा खुसी हुनु छैन। दुई दिन किन नाघ्यो ? दुई दिन नाघ्छ । काम गरेकोमा जस दिन कहिले कहिले सिक्दा हुन्थ्यो। मानसिकता अलिकति सकारात्मक बनाउँदा हुन्थ्यो,’ उनले भने।

सम्बन्धित समाचार

ताजा समाचार