भारत-पाकिस्तान तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थी उद्धार गर्न रास्वपाकाे आग्रह

spot_img

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारत–पाकिस्तान तनाव बढ्दै गएकाले पाकिस्तानमा अध्ययन गर्ने ८० जना विद्यार्थीहरूलाई तुरून्त उद्धार गर्न आग्रह गरेकाे छ ।  प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपा सांसद तथा पूर्वमन्त्री शिशिर खनालले पाकिस्तानमा अध्ययन गर्ने नेपाली विद्यार्थी असुरक्षित भएको भन्दै उद्धार गर्न आग्रह गरेका हुन् ।

खनालले भने, ‘ पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस् । साथै, यो संसदलाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिङ होस भनी माग गर्छु ।’

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तानको तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेकी छन् । परराष्ट्र र शिक्षा मन्त्रालयलाई पत्र लेखेर सांसद श्रेष्ठले विद्यार्थीको उद्धार गर्न माग गरेकी हुन् ।

भारत-पाकिस्तान तनावकाबिच भारतमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरू सुरक्षित नरहेकाे बताएका छन् । भारतको पञ्जाब राज्यका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले रातिराति दुवै तर्फको आकाशमा साइरन बज्ने र मिसाइल देखा पर्ने भएकाले आफूहरू आतंकित बनिरहेको बताएका छन् ।

दुवै देशबिच भइरहेकाे तनावकाे चेपुवामा परेका विद्यार्थीले त्रासपूर्ण क्षेत्रमा बस्नुभन्दा घर फर्कने वातावरण बनाइदिन नेपाल  सरकारलाई अनुराेध गरेका छन् ।

यसैबिच सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसदहरूले भारत-पाकिस्तानबीच बढ्दै गएको तनावबीच त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा चुनौती उत्पन्न भएको र सरकारले यस मामिलामा गम्भीर हुनुपर्ने बताएका थिए ।

भारतको कश्चिमस्थित पहलगाम घटनामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएपछि त्यसको बदला लिन भारतले ‘अप्रेसन सिन्दूर’ सञ्चालन गरेपछि पाकिस्तानले त्यसको जबाफ दिन थालेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार