काठमाडौँ । राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेकाे छ । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई कसैले चाहेर पनि राजावादी समूह नफुट्ने दाबी समेत गरे ।
‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ’ लिङ्देनले भने, ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो ।’
उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।
लिङ्देनले भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका, २०६२ /०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’
समितिले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि जनआन्दोलन घोषणा गरेकाे हाे ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

