काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहने बताएकी छन् ।
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा एमालेकाे तारीफ गर्दै यस्ताे कुरा बताएकी हुन् ।
सम्बोधनको क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन् । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’
उनले सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर देश नबन्ने भन्दै देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने बताइन्
‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन । देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’।
साथै डङ्गोलले आफूले महानगरमा राम्रो काम गरेकाले आफूमाथि आक्रमण भइरहेकोसमेत बताइन् । उनले एमालेले राम्रो काम गरेकाले पार्टीमाथि आक्रमण भइरहेको समेत जिकिर गरिन् ।

