काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै उनले भारतसँग अमेरिकाको ब्यापार घाटा ठूलो रहेकोले आगामी अगस्ट १ (साउन १७) बाट भन्सार शुल्क लागू हुने जनाएका छन् । याे म्याद अमेरिका र भारतबीचको व्यापार सम्झौताका लागि तोकिएको अन्तिम समय हो ।
‘भारतले अब अगस्ट १ तारिखदेखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ, माथि उल्लिखित कुराहरूको लागि अतिरिक्त जरिवानासमेत लाग्नेछ’, उनले लेखेका छन् ।
भारत अमेरिकाकाे मित्र राष्ट्र भए पनि भारकाे चर्काे भन्सार शुल्कका कारण व्यापार कम गरेकाे ट्रम्पले उल्लेख गरेका छन् ।
‘स्मरण रहोस्, भारत हाम्रो मित्र हो, तर विगतका वर्षहरूमा हामीले भारतसँग धेरै व्यापार गरेका छैनौं, किनभने उनीहरूको शुल्क (ट्यारिफ) विश्वमै सबैभन्दा उच्चमध्येका छन् र उनीहरूले सबैभन्दा कठिन र आपत्तिजनक गैर–आर्थिक व्यापार अवरोधहरू लागू गरेका छन्’, ट्रम्पले लेखेका छन् ।
यस्तै ट्रम्पले भारत-रूसकाे सम्बन्धप्रति पनि असन्तुष्टि जनाएका छन् । भारतले रुससँग निरन्तर हतियार र ऊर्जा खरीद गरिरहेकोमा असन्तुष्टि जनाउँदै ट्रम्पले युक्रेनमा युद्ध रोक्न रुसमाथि दबाव दिइरहेका बेला भारतले भने रुससँग हतियार किनेर आर्थिकरुपमा मजबुत बनाएको र रुसलाई युद्ध अपराध गर्न सघाएको गरिरहेको गुनासाे गरेका छन् ।
साथै उनले रुसबाट तेल र हतियार किन्ने कार्यलाई लिएर भारतमाथि अस्पष्ट अतिरिक्त कारबाही पनि गरिने चेतावनी समेत दिएका छन् ।
यसैबीच भारतले भने निष्पक्ष, सन्तुलित र आपसी हितमा आधारित द्विपक्षीय व्यापार सम्झौता गर्न प्रतिबद्ध रहेकाे प्रतिक्रिया दिएकाे छ ।

