काठमाडौ । रूसले अफगानिस्तानको तालिबान शासनलाई औपचारिक मान्यता दिएको छ । अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने रूस पहिलो देश बनेको हाे ।
बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन् ।
बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो ।
मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारीको नयाँ अध्याय’ भएको बताएकाे जनाएकाे छ । साथै, उनले यो परिवर्तन अरू मुलुकहरूका लागि ‘उदाहरणीय बन्ने’ दाबी पनि गरे ।
सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएपछि मानव अधिकार उल्लङ्घनको बढ्दो आरोपहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ ।
रूस सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सम्झौता गर्ने पहिलो देश बनेको थियो, जसमा रूसले अफगानिस्तानलाई तेल, ग्याँस र गहुँ आपूर्ति गर्ने सहमति गरेका थिए ।
रुसको विदेश मन्त्रालयका अनुसार, काबुलसँग “पूर्ण साझेदारी” स्थापनाको बाटो खोल्ने उदेश्यका साथ यसै वर्षको अप्रिलमा तालिबानलाई आतङ्ककारी संगठनहरूको सूचीबाट हटाइएको थियो ।

