काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको विशिष्ट (VIP) लिफ्ट अबदेखि सर्वसाधारण र सेवाग्राहीका लागि खुला गरिएको छ। कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनपछि उक्त लिफ्टमा लगाइएको पासवर्ड हटाएर सबैको पहुँचमा ल्याइएको हो।
विगतमा निवर्तमान महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को पालामा उक्त लिफ्टमा पासवर्ड राखिएको थियो, जसका कारण विशिष्ट व्यक्ति र सीमित कर्मचारी बाहेक अन्यले यसको प्रयोग गर्न पाउँदैनथे। बालेनले मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएसँगै महानगरको नेतृत्व सम्हालिरहेकी डंगोलले कर्मचारी र सेवाग्राहीको सहजताका लागि यस्तो कदम चालेकी हुन्।
कमलादीस्थित महानगरको यो भवनमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ। यसअघि एउटा लिफ्ट बालेनले मात्रै प्रयोग गर्ने गरेको र अर्को लिफ्टमा नगर प्रहरी तैनाथ रहने गरेको भन्दै आलोचना समेत हुने गरेको थियो। कार्यवाहक मेयर डंगोलको यो निर्णयलाई महानगरभित्र लोकतान्त्रिक अभ्यास र जनमैत्री प्रशासनको एउटा सकारात्मक सुरुवातका रूपमा हेरिएको छ।

