सिन्धुपाल्चोकमा आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्लाको एक माध्यमिक विद्यालयमा कार्यरत ती शिक्षकले छात्रालाई अनुचित दबाब दिने र यौनजन्य दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी छन् । पीडित छात्रा र उनका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ती शिक्षकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार, शिक्षकले विद्यालय समय र अन्य समयमा पनि छात्रालाई हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।विद्यालय प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको र दोषी प्रमाणित भएमा कडा कानुनी कारबाहीका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। घटना सार्वजनिक भएपछि स्थानीय र विद्यार्थी संगठनहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै दबाब दिइरहेका छन्।

