आगामी तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने संकेत

spot_img

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन नेपालको मौसममा उल्लेखनीय बदलाव आउने देखिएको छ। तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ।

भोलि  मंगलबारबाट मौसम थप सक्रिय हुने देखिन्छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपात हुनेछ।

मंगलबार रातीसम्म पुग्दा यो प्रणाली थप बलियो भई लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णालीका धेरै स्थानमा मध्यम वर्षा र उच्च हिमाली भेगमा मध्यम हिमपात हुने भएकाले पदयात्रा र उच्च भेगको भ्रमणमा रहेकाहरूले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

बुधबार भने देशभरकै मौसम बदली भई अधिकांश स्थानमा वर्षा र हिमपातको प्रभाव रहनेछ। बुधबार दिउँसो सबै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात हुने र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

बाँकी स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। बुधबार रातीबाट मौसममा क्रमिक सुधार आउने भए तापनि चिसो बढ्ने र हिमपातका कारण हिमाली क्षेत्रको तापक्रममा गिरावट आउने हुनाले चिसोबाट बच्न र आवश्यक पूर्वतयारी गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार