काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सार्वजनिक बहसमा सहभागी हुन अस्वीकार गर्नुभएको छ।
झापा-५ मा ओलीसँगै चुनावी प्रतिस्पर्धामा रहनुभएका बालेनले सामाजिक सञ्जालमार्फत उक्त प्रस्तावलाई कडा शब्दमा अस्वीकार गर्नुभएको हो।
आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रधानमन्त्रीका प्रमुख दाबेदारहरूबीच हुनुपर्ने सार्वजनिक बहसको विषयले नेपालको राजनीति तातिएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत “देश बनाउने र देश जलाउने” बीचको प्रतिस्पर्धामा आफू कुनै पनि पारदर्शी बहसका लागि तयार रहेको घोषणा गर्नुभएको थियो।
ओलीले नयाँ र पुराना सबै दलहरू मैदानमा रहेको भन्दै नेताहरूको एजेन्डा र भिजनबारे जनतासामु स्पष्ट हुन बहस आवश्यक रहेको उल्लेख गर्नुभएको थियो। तर, सोही क्षेत्र (झापा-५) बाट उम्मेदवार रहनुभएका बालेन शाहले ओलीको उक्त प्रस्तावलाई ठाडै इन्कार गर्नुभएको छ।

