२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् ।
उनीहरूलाई आजै मन्त्री नियुक्त गरे लगत्तै शपथग्रहण गराइएको हो ।
नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईं वन, राजेन्द्र सिंह भण्डारीलाई श्रम र कुमार इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कुमार इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं स्कूल अफ ल का प्राध्यापक कुमार इङ्नाम फौजदारी कानूनका विशेषज्ञ हुन् ।
राजेन्द्र सिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व एआईजी हुन् । उनी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) का संस्थापक प्रमुख समेत हुन् ।
माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका वारेमा लेखन गरिरहेका छन् भने कर्णाली उत्सव छलफल अभियान पनि चलाइरहेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) की राष्ट्रिय परियोजना संयोजक पनि हुन् ।

