अछाममा छाउगाेठमा पहिराे खस्दा सँगै सुतेकी बालिकासहित दुई जनाको मृत्यु, एक जना घाइते

अछाममा छाउगोठ भत्काइए पछि महिनावारी बार्न त्रिपाल टाँगेर बस्ने गरेका छन् ।

spot_img

अछाम । अछाममा त्रिपालले बारेर बनाइएको छाउगोठमा पहिरो खस्दा दुई महिनावारी भएकी महिला र १ बालिका मृत्यु भएको छ । ‍

पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखुलीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला पहिरोसँगै खसेको खसेको ढुङ्गा लागेर ३५ वर्षीया निमा खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिनावारी भएपछि गएराति निमा र मृतक बालिकाकी आमा रत्ना भण्डारी त्रिपालले बारिएको सोही छाउगोठमा सुत्न गएका थिए । कविता पनि आमासँगै सुत्न छाउगोठ गएकी थिइन् । ढुंगाले लागेर रत्ना पनि गम्भीर घाइते छिन् । उनको टाउकोमा चोट छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।

छाउगोठ घरबाट करिब ५० मिटरको दूरीमा रहेको प्रहरीले जनाएकाे छ ।

शुक्रबार बिहान ५ बजे अविरल वर्षापछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेपछि कविता र निमाको घटनास्थलमै मृत्यु भएको हो ।

अछाममा छाउगोठ भत्काइए पछि महिनावारी भएकाहरुलाई त्रिपाल टाँगेर खेतबारीमा राख्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार