वीरगञ्ज । पर्साको वीरगञ्जमा नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको धाराकै पानी खाएकाहरूमा हैजा संक्रमण फैलिएकाे पाइएकाे छ । सो क्षेत्रमा खानेपानीकाे पाइप फुटेर नालाबाट खानेपानीमा ढल मिसिएको पुष्टि भएको हाे ।
दूषित खानेपानी, ढल–खानेपानीको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान गरिएको हुँदा हैजा फैलिएको देखिएको छ ।
प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरण गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले घुम्ती सवारीसाधन (मोबाइल भ्यान)सहितको टोली परिचालन गरिएको छ ।
हैजा तीव्र रूपमा फैलिँदा वीरगञ्जका विभिन्न अस्पतालमा बिरामीको चाप बढेकोले बेड नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । वीरगञ्जका विभिन्न अस्पतालमा यतिबेला झाडापखाला र हैजाको शंका लागेका ३ सयभन्दा बढी बिरामी भर्ना भएका छन्, तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कतिपयकाे अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ ।
हालसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ११, १२ र १३ का विभन्न व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएकाे छ ।
हैजा संक्रमण तिव्र रूपमा फैलदा २ दिनका लागि विरगञ्जका सामुदायीक तथा संस्थागत विद्यालय बन्दगरीएकाे छ भने, स्वास्थ्यकर्मिलाई समेत अत्यावश्यक कामबाहेक बिदा नदिने निर्णय गरेकाे छ ।

