काठमाडौं । वीरगञ्ज महानगरपालिकामा समुदायस्तरमै हैजा फैलिएपछि खानेपानी परीक्षण तथा शुद्धीकरण गर्न शुरू गरीएकाे छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले घुम्ती सवारीसाधन (मोबाइल भ्यान)सहितको टोली परिचालन गरिएको हाे ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । संख्या शनिबार राति अबेरसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।
वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियाे । शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिकाका चार वडासम्म हैजाको संक्रमण फैलिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।
हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई बन्द गरिएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा आइतबार र सोमबार सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हैजाको लक्षण देखिएका पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज महानगरपालिका-१२ का पुरुष गरी दुई जना बिरामीको मृत्यु भएको छ । तर हैजाकै कारण उनीहरूको मृत्यु भएको भने एकिन छैन् ।
हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर बताएका छन् ।

