कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा, अझै छिर्न सकेन प्रहरी

spot_img

काठमाडौँ । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा ल्याउन सकेको छैन ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएपछि सुरक्षाकर्मी र कारागार प्रशासनले त्यहाँ प्रवेश गर्न सकेकाे छैन । सोही कारण घटनाको ३६ घण्टा बितिसक्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।

तर, अहिले कारागारको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । मानव अधिकारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयको टोली कारागार प्रवेश गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।

कैदीबन्दीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् । १४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।

सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।

तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।

शुक्रबार ब्लक ‘ए’ मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् ।

घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार