रसुवाकाे भाेटेकाेशीमा आएको बाढीले बाटाे कटान, जलविद्युत आयोजनामा क्षति

spot_img

काठमाडाैँ । नेपाल-चीन सीमामा पर्ने रसुवाकाे भाेटेकाेशीमा मंगलबार राति २: १५ मा फेरि भीषण बाढी आएको छ । बाढीले तटीय क्षेत्रमा कटान र केही टहराहरूमा क्षति पुर्‍याउनुका साथै स्याफ्रुबेसी-रसुवागढी सडक खण्ड र त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

गत असार २४ गतेको बाढीले क्षतिग्रस्त भएर मर्मतपछि सञ्चालनमा आइसकेको सडक पुनः अवरुद्ध हुँदा नेपाल-चीन व्यापारिक मार्गसँगै स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ ।

यस्तै असार २४ गतेको बाढीले बगाएकाे मितेरी पुल बगाएपश्चात चिनियाँ पक्षले बनाउँदै गरेकाे अस्थायी बेलिब्रिज निर्माणको काम समेत अवरूद्ध गरेकाे छ ।

बाढीले त्रिशूली नदी कोरिडोरका जलविद्युत् आयोजनाहरूमा पनि गम्भीर क्षति पुऱ्याएको छ। बाढीले त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको सबस्टेसनमा क्षति पुगेको छ भने नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’को स्टेसनमा पनि क्षति पुगेको छ ।

बाढीले टिमुरेस्थित निर्माणाधीन भन्सार कार्यालयसम्म जाने सडक भासिएर भोटेकोशी नदीमा मिसिएको छ । टिमुरे भन्सार यार्डमा रहेको धर्मकाँटा (तौल गर्ने मेसिन) बगाएको छ भने निर्माणाधीन भन्सार यार्डमा समेत क्षति पुगेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । सोही क्षेत्रमा रहेको सेनाको अस्थायी ब्यारेक पनि जोखिममा परेको छ ।

यसैगरी, रसुवा र नुवाकोटको सिमानामा अवस्थित पवित्र तीर्थस्थल उत्तरगया धाम पूर्ण रूपमा डुबानमा परेको छ । बाढीले उत्तरगया गाउँपालिकाको कार्यालय समेत जोखिममा पारेको छ ।

प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ । खोलामा माछा मार्न, बाढीले बगाएर ल्याएका काठ–दाउरा टिप्नेजस्ता क्रियाकलाप नगर्नसमेत आग्रह गरेको छ।

असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले २० जना बेपत्ता भएका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार