जनकपूरधाम । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका ४ जिरोमाइलमा एक जना बालिकाको हत्या भएको छ ।
गए राति क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहकाे खुकुरी प्रहारबाट ती बालिकाकाे मृत्यु भएकाे जनाइएकाे छ । साथै ती बालिकाकी आमा र भतिजी नाता पर्ने घाइते भएका छन् ।
मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार क्षिरेश्वरनाथ नगरपालिका-४ बटेश्वर घर भएकी १५ वर्षीया अञ्जलीकुमारी यादव, उनकी ३५ वर्षीया आमा आशा र उनकी भतिजी अन्दाजी १४ वर्षीया राधा घाइते अवस्था फेला परेका जनाएका छन् ।
उनीहरू तीनै जनालाई गए राति नै मधेस प्रदेश प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा १२ बजेतिर चिकित्सकले अञ्जलीकुमारी यादवलाई मृत घोषणा गरेका थिए ।
राधा मिथिला नगरपालिका १ ढल्केवर बस्ने ढोगेन्द्र यादवकी छोरी हुन् ।
उनीहरू तीन जना जनकपुरधाम ४ जिरोमाइल भन्ने ठाउँबाट दुई किलोमिटर पूर्वमा रहेको सूर्यनन्द चौधरीको एक तले घरमा डेरा लिएर बसेका थिए।
हाल फरार रहेका आरोपी रामबाबु साहकाे प्रहरीले उनको खोजी गरिरहेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख एवं डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार साह पेसाले सवारी चालक हुन् ।
‘डेरामा बसिरहेको बेलामा ती व्यक्ति आएर खुकुरी प्रहार भएको भन्ने छ। ती व्यक्तिबारे भेरिफाइ गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अन्धाधुन्धा प्रहार गरेको छ, घटनापछि प्रहरी पुगेर घाइते तीनै जनालाई अस्पताल पठाएका थियौं।’
ती व्यक्तिले आमामाथि प्रहार गर्न खोज्दा बालिकाहरूले छेक्न खोज्दा लागेको डिआइजी चतुर्वेदीले बताए ।
बालिका अञ्जलीकुमारीको घाँटीमा चोट लागेको हो। यता आमा आशाको अवस्था पनि गम्भीर रहेको उनले बताए ।
‘डेरामा तीन जनामात्रै बस्ने भनिएको छ। ती व्यक्ति घर नजिकै बस्छन्,’ उनले भने, ‘आरोपीको पहिचान खुलेकाले ती व्यक्ति पक्राउ पर्छन् । कुनै कम्प्रमाइज हुँदैन पक्राउ पर्छन्।’
घटनास्थलको मुचुल्का गर्ने काम भइरहेको छ ।

