विद्यादेवी भण्डारीलाई एमालेकाे नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएकाे छ । पहिले पनि लिडरसिपमा बसेर संगठनात्मक काम काम गरेकाे हाेइन ।

spot_img

काठमाडौँ-  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूसँग कुनै सल्लाह नगरी एमालेमा फर्किएको बताएकाे र यसबारे पार्टिले उपयुक्त समयमा निर्णय गर्ने बताएका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्ताका क्रममा ओलीले साे कुरा बताएका हुन् ।

उनले पत्रकार पाण्डेसँग भने- ‘पार्टीको अध्यक्ष म छु, अध्यक्षता गरिरहेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु , कसरी काम गरौं, मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउन मिल्छ मिल्दैन । आउँ नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन, संवैधािनक प्रक्रिया कस्ताे हुन्छ ? अथवा प्रणालीगत अवस्था कस्तो हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगो देशको सर्वमान्यबाट दल विशेषमा आउँदा यी कुनै विषयमा विचार विमर्श अन्तर्राष्ट्रिय अभ्यास के छ ? ती कुरामा विचार विमर्श गरौं भनेर ..।’

आफूले पार्टीबाट राष्ट्रपतिका लागि पठाएको व्यक्तिबाट भएको यस कदमबारे पार्टीले छिट्टै निर्णय गर्ने उनले बताए ।

‘अरुसँग थाहा छैन मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढङ्गले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै माैखिक लिखित केही गर्नुभएन । यसैले पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्छ, उहाँ आफ्नै हिसाबले राष्ट्रपति हुनु भएको हैन । उहाँ हामीले उम्मेदवार बनाएपछि राष्ट्रपति हुनुभएको हो । पार्टी छोड्नु भएर जानुभएको हो ।’

ओलीले भण्डारी करिब १० वर्षदेखि एमालेमा नरहेकाले नेतृत्वमा फर्किएर काम गर्न पनि समस्या हुने बताए । निरन्तर नेतृत्वमा रहेर काम गरेको अनुभव नभएको अवस्थामा पूर्वराष्ट्रपतिले एमाले हाँक्न नसक्ने पनि उनले संकेत गरे ।

उनले अगाडि भने, ‘ अहिले वहालाइ नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त वहाँ राजनितिमा आउनुहुन्छ भनेर पार्टीले त्याे ठानेको, मानेको अवस्था नै छैन । दाेस्राे वहा त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएकाे छ । पहिले पनि वहाले लिडरसिपमा बसेर संगठनात्मक काम गरेकाे हाेइन । पार्टीले तत्सम्बन्धमा निर्णय उपयुक्त समयमा गर्छ ।’

ओलीले पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किँदा नैतिक असरको पनि ख्याल गर्नुपर्ने बताएका छन् । पछिल्लो समय राष्ट्रको उच्च पदमा पुगिसकेका व्यक्तिले राजनीतिमा फर्किनु नैतिक रुपमा उचित कुरा नभएको बताउने गरिएको छ ।

‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले आउन हुन्छ हुदैन, माेरल्ली हुन्छ हुदैन, गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनितिमा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, वहाकै जिवनमा के असर पर्छ, यी सबै कुरा साेचेर वहालाइ दिनुपर्ने सुझाव वा वहामाथि गरीनुपर्ने निर्णय पार्टीले सल्लाह गर्नुपर्छ,’ उनले भने ।

भण्डारीले राजनीतिमा फर्किन गरेको कोसिसबारे आफू जानकार रहेको समेत ओलीले बताए । उनले भने, ‘हामीले पनि जानकारी प्राप्त गरेका छौं । वहाले सार्वजनिक रूपमा बोलेका कुराहरू, आउँछु भनेका कुराहरू, ती के हुन् ? उहाँसँग हामीले सोध्नुपर्छ । धेरै ढिलो गर्दैनाै ।’

गत असार १४ गते ओली नै उपस्थित भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै अब एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार