काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति र फ्लडलाइट जडानको काम समयमा नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना तिराउने गरिएको छ । तोकिएको समयमा काम सम्पन्न नगरेपछि पूर्व सम्झौताअनुसार दैनिक जरिवाना लागाइएको हो ।
सम्झौताअनुसार, योजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ । जुन करिब दैनिक दुई लाख रुपैयाँभन्दा बढी पर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार, असार ३० गते नै ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम नसक्दा हर्जाना लाग्ने जानकारी गराइएको थियो ।

