काठमाडौँ । घुस डिलसम्बन्धी प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीकाे सचिवालयमा गएर राजीनामा पत्र बुझाएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिवद्दताकाे साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”
घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए । घुस डिल प्रकरणमा मुछिएपछि सोमबार मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएर सोधपुछ गरेका थिए ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो ।
सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापाका साथै एमालेका नेता राजन भट्टराईलगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्तका साथै गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका थिए ।

