काठमाडौं । गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । चीनतर्फबाट आएको बाढीले उद्धारमा खटिएका ३ प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।
यसैगरी बाढीमा फसेका ५० जनाको उद्धार गरीएकाे छ । पछिल्लो पटक रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइटमा फसेका १८ जनालाई (जसमा १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला रहेका थिए) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलमार्फत उद्धार गरेको हो ।
यससँगै हालसम्म उद्धार गरिएकाहरूको संख्या ५० पुगेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेका छन् ।
बाढीले थप क्षति पुर्याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ भने सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ ।

