विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने शिक्षामन्त्रीकाे भनाइ

विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो । सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन । जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ ।

spot_img

काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए ।

‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय विश्वविद्यालय आएका छन् । यो हटाउनु पर्छ भन्ने प्रस्ताव गर्ने मान्छे हुँ,’ उनले थपे ‘प्राध्यापकलाई भीसी, रेक्टर, रजिस्ट्रार, डिन, विभागीय प्रमुख नियुक्त गर्दा राजनीतिक सर्टिफिकेटलाई आधार बनाउनु पर्‍यो भने विश्वविदालय जान्छ । हामी त्यही नियति भोगिरहेका छौँ ।’

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने बताए ।

‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतै–कतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अफ्ठ्यारो छ । सबै मिल्यौं भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौं । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।’ उनले भने ।

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन मन्त्री पन्तले आग्रह गरे । ‘विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो । सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन । जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ,’ मन्त्री पन्तले भने ।

त्रिविले आफ्नो ६६ औं वार्षिकोत्सव स्मृति भवनमा मनाएको छ । कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, त्रिविका कर्मचारी लगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

ताजा समाचार