भ्रष्टाचार मुद्दामा नेपाली सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

spot_img

काठमाडाैँ । भ्रष्टाचार मुद्दामा नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन् ।

सैनिक विशेष अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो ।

सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको जनाइएकाे छ ।  अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने फैसलामा उल्लेख छ ।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो।

अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो। कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन् ।

सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तत्कालीन् सेनानी लक्ष्मण अधिकारी भने अवकास भएर अमेरिकामा छन्। उनलाई पक्राउ गरेर ल्याउन इन्टरपोलको सहयोग मागिएको छ।

उनीहरु चार जना सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमाबापतको रकम हिनामिना गरेको अभियोग थियो । शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता पुष्टि भएको हो ।

 

सम्बन्धित समाचार

ताजा समाचार