धनगढी । बाजुराको बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितलाई ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । यसका साथै प्रदेश सरकारले १५ वटा टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने भएकाे छ ।
आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप सहयोगको निर्णय गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताए जानकारी दिए ।
२३ जेठमा बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार बजारमा आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएका थिए भने सात पसलमा आंशिक क्षति भएको थियो । आगलागीबाट १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ ।
बाम्का बजारमा रहेकाे नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो ।
राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

