काठमाडाै । हाजिरी जमानीमा छुटेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री सांसद धवल शम्शेर राणा हाजिर नभएपछि जिम्मा लिएका वकिलहरूलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाडौंको तीनकुनेमा चैत १ गते भएको घटनामा पक्राउ परेका मिश्र र राणा हाजिर जमानीमा छुटेका थिए ।
हाजिरी जमानीमा छुटेका व्यक्तिहरू प्रहरीले बोलाएको बेला र मुद्दा दर्ता गर्ने बेलामा उपस्थित हुनुपर्छ । तर उनीहरू दुवै जना हाजिर नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले जिम्मा लिएका वकिललाई जनही ५० हजारका दरले जरिवाना गरेका हुन् ।
वैशाख ७ गते उपचारका लागि हाजिर जमानीमा छुटेकाे राणा वैशाख १० गते भारतको मुम्बई गएर वैशाख १४ गते काठमाडौं फर्किएका थिए ।
उनलाई हाजिर जमानीमा रिहा गर्दा सरकारी वकिलको कार्यालय काठमाडौंले उनकी श्रीमती र स्वकीय सचिवको जिम्मामा छाडेको थियो ।
हाजिर जमानीमा मिश्रलाई छाड्दा दुई जना वकिलले जिम्मा लिएका थिए । मिश्रलाई अधिवक्ता श्यामबहादुर शाही र बसन्त ब्लोनको जिम्मामा छाडिएको थियो । उनीहरू दुवै जनालाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
प्रहरी स्रोतका अनुसार मिश्र अहिले दुवै जना वकिलको सम्पर्कमा छैनन् ।
जेठ ११ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दा पनि दुवै जना उपस्थित भएनन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार जरिवाना गर्न सकिने व्यवस्था छ।
सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र, राणासहित ५० जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो। त्यसमध्ये मिश्र र राणासहित ११ जना फरार भएका हुन् ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै सरकारी गाडी र पार्टी कार्यालय तथा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गाप्रसाईं भने प्रहरी हिरासतमै छन् ।

