आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड होइन : प्रधानमन्त्री ओली

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम गर्नासाथ घमण्ड नगर्न सुझाव दिएका छन् ।

आईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई आफूले गरेको कामप्रति घमण्ड नगरेर गर्व गर्न सुझाए ।

उनले भने, ‘आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइन ।’

उनले रोजगारीको समस्या समाधान गर्न उद्यमशीलता विकासको विकल्प नरहेको बताए ।

‘उद्यमशीलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरी रोजगारी अवसर कसरी आउँछ ?,’ उनले प्रश्न गरे ।

उनले सरकारी जागिरलाई सीमित प्रतिशतले मात्र पाउने भएकाले उद्यमशिलता गर्नुपर्नेमा जाेड दिए । ‘यो त सीमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि,’ उनले भने, ‘हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरु रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ ।’

ओलीले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्ने समेत बताए ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार