काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा रहेका व्यवसायीले उपत्यकामा गाडी सञ्चालन नगरेका हुन् ।
एक वर्ष अगाडि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले यस सम्बन्धी नियमावली नल्याउने बचनमा विश्वास गर्दा अहिले धोका खाएकाले पुनः बन्दमा उत्रिनु परेकोले गण्डकी प्रदेश सरकारबाट प्रतिबद्धता नआएसम्म गाडी नचलाउने नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघले जनाएकाे छ ।
सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू प्रभावित भएका छन् ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका थिए ।
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर यातायात अवरूद्ध गरी आन्दोलनमा उत्रिएका थिए । उनीहरुले गत शुक्रबारदेखि गण्डकी प्रदेशभर र जेठ १९ गतेदेखि देशभर चक्काजाम गरेका छन् ।

