काठमाडौँ । नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको वैकल्पिक सडक बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हाे ।
बाढीले तरकारी बोकेको एउटा पिकअप भ्यानसमेत बगाएको छ । भ्यान बाढीले भत्काएको सडकमा फसेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएकाे छैन ।
चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ ।
अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् । नवलपरासी अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो ।
पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

