काठमाडौँ । काभ्रेको रोशी खोलाले बगाएको पुलका पार्टपुर्जा चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
खाेलाले बगाएर क्षति भएको पुलमा प्रयोग भएका फलामका पार्टपुर्जाहरू चोरी गरी दुई वटा टिपरमा लोड गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
जेठ ११ र १२ गते परेको अविरल वर्षाले रोशी गाउँपालिका-७ र नमोबुद्ध नगरपालिका-६ को सिमानामा रहेको पक्की पुल रोशी खोलाले बगाएर क्षति पुर्याएको थियो ।
भारत बिहार मोतिहारी घर भई बनेपा-७ तरकारी बजार बस्ने ३२ वर्षीय मन्टुकुमार र सर्लाही मलंगवा घर भई सोही ठाउँ बस्ने ३९ वर्षीय जितेन्द्र पासवान पक्राउ परेका हुन् । प्रहरीले बा ५ ख ४६२६ नम्बरको टिपर चालक काभ्रेकै ४७ वर्षीय मानबहादुर तामाङ र बा२ ख ४००१ नम्बरको टिपर चालक ४० वर्षीय रमेश लामालाई पक्राउ गरेको हो । बा ५ ख ४६२६ नम्बरको टिपर र बा २ ख ४००१ नम्बरको टिपरमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
उनीहरू चारै जनामाथि प्रहरीले चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

