धनगढी । कैलालीकी एक किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ मा सामूहिक बलात्कार भएको हो । जेठमा आफन्तको बिहेमा गोदावरीबाट कृष्णपुर गएकी ति किशाेरीलाई बन्धक बनाएर पटकपटक बलात्कार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।
‘दुई गतेदेखि नै बन्धक बनाएर पटकपटक बलात्कार भएको भन्दै आइतबार बिहान जाहेरी आएको छ,’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘बलात्कारमा संलग्न पाँच जना रहेको भन्दै जाहेरी आएकोमा अहिलेसम्म एक जना पक्राउ परेका छन् ।’
पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै एक युवकलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बस्नेतले बताए ।
किशोरी बेपत्ता भएपछि आफन्तले खोजी गर्दा उनी कृष्णपुरमा भेटिएकी थिइन् । प्रहरीलाई भने घटनाबारे शनिबार जानकारी आएको थियो ।

