काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असारको १ गतेदेखि ग्वार्को फ्लाई ओभर सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।
आइतबार ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरिसकेपछि उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
उनले भने, ‘फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ।’
फ्लाइओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भइरहेको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ । त्यस लगत्तै गाडी गुडाउने तयारी गरेको निर्माण कम्पनिले बताएकाे छ
१७ करोड ६ लाख ८८ हजार रूपैयाँको लागतमा निर्माण सुरू भएको फ्लाइओभर सुरू ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई निर्माण भइरहेको हो।

