तिलगाउँका बाढीपीडितलाई १ हप्तापछि कर्णाली प्रदेशकाे राहत

spot_img

काठमाडौँ । कर्णाली प्रदेश सरकारले हुम्लाको नाम्खा गाउँपालिका -६, तिलगाउँका बाढीपीडितका लागि राहत पठाएको छ । जेठ १ गते हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयहरूलाई एक सातापछि प्रदेशले बिहीबार राहत सामग्री पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरेबमोजिम पाँच सेट टेन्ट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेसलगायतका राहतका सामग्रीहरू स्थलमार्गबाट पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

गए १ जेठमा स्थानीय तिल्चुङ खोलामा आएको लेदोसहितको बाढीले सिंगो गाउँ नै जोखिममा परेको छ । बाढी आएको एक साता बित्दा प्रदेश र संघीय सरकार प्रभावित क्षेत्रमा नपुग्दा १८ घरपरिवार आकाशमुनिको बासमा छन् ।

यस्तै, प्रभावित क्षेत्रको भौगोलिक अध्ययन गर्न विज्ञ टोली हुम्ला पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बुधबार हुम्ला सदरमुकाम सिमिकोट पुगेको थियो ।

अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा छन् । उनीहरू प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार