हुम्लाको तीलगाउँमा आएको हिमबाढीले जनजीवन अस्तव्यस्त, बाढीपीडितकाे उद्धार गर्न सरकारको ध्यानाकर्षण

spot_img

काठमाडौँ ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तीलगाउँमा यही जेठ १ गते आएको हिमबाढीपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढीले गाउँ नै जाेखिमममा परेपछि १८ घरधुरीका ३३ जनालाई स्थानीय अहिले त्रीपाल टाँगेर नजिकैको विद्यालयमा र खुला चौरमा राखिएकाे छ । बाढीले मानवीय क्षति नभए पनि तीलगाउँ जोखिममा छ । खोलाले गाउँपट्टीको भाग कटान गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद लामाले हिमताल फुटेर आएको बाढी पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

१८ परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको सदनलाई जानकारी गराउँदै सांसद लामाले भने, ‘पहिरोपीडितहरू असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन् । उनीहरूको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउँछु।”

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बाढीले पाइप र ट्यांकी नै बगाएकाले गाउँमा खानेपानीको अभाव भएको बताए ।

यस्तै, बाढीले हिल्सा नाका पुग्ने मुख्य सडक अवरुद्ध भएको छ । तिल्चुङ भन्ने ठाउँमा बाटो नै बगाएको र सानातिना पाँचओटा काठेपुल भत्काएको छ। साथै, सिँचाइको कुलो पनि भत्केको र एक करोडभन्दा धेरै योजनाको निर्माणाधीन जलविद्युत् गृह पनि पूर्णतया क्षतिग्रस्त बनेको वडाध्यक्ष तामाङले बताए ।

पानी पनि नपरेको र हिमपात पनि नभएको अवस्थामा, गाउँ छेउकै खोलामा १ गते राति १० बजेतिर गड्याङगुडुङको आवाज आएपछि स्थानीय ब्युँझिएका थिए ।  “अर्को दिन त्यही खोलालाई पछ्याउँदै जाँदा करिब ८ घण्टा लाग्ने थाक्रे क्षेत्रमा रहेका दुई वटा ताल फुटेर बाढी आएको र फेरि बाढी आए खोला गाउँमै पस्छ कि भन्ने स्थानीमा चिन्ता रहेको वडाध्यक्ष तामाङले बताए ।

घटनापछि आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो । तर उक्त टोली हाई अल्टिच्युडका कारण तिलगाउँ नपुगी फर्कने भएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार