काठमाडौँ । काभ्रेको धुलिखेलमा शनिबार बिजुलीको तार मर्मतका लागि पाेलमा चढेका युवकको करेन्ट लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सूर्यमान तामाङ दोङ र रणेन्द्र बरालीले प्राधिकरणको लापरबाहीका कारण उक्त घटना भएको बताए।
सांसद बरालीले प्राधिकरणको लापरबाहीका कारण एक दलित युवकले ज्यान गुमाएको बताए ।
‘विद्युत बन्द भएको सार्वजनिक सूचना गरेर प्राधिकरणले नै पोलमा कामदार खटायो । लाइन प्रवाह गर्ने कर्मचारीलाई कारबाही गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइयोस्,’ उनले भने।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भने, ‘लापरबाहीको पनि हद हुन्छ। प्राधिकरणको लापरबाहीले एक श्रमिकको ज्यान लियाे । सूचना नै नदिएर लाइन चार्ज गरिएपछि दुर्घटना भएको थियो’ । सांसद नेपालीले प्राधिकरणले श्रमिक र श्रमको सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सांसद ज्ञानेन्द्र शाहीले बिजुलीको पोलमा करेन्ट लागेर मजदुरको मृत्यु भएको घटना दुर्घटना नभई हत्या भएको बताए।
उनले भने, ‘मान्छे चढेको बेला बिजुली छाडिदिएर मार्ने ? ज्यान मार्ने उद्योगमा मुद्दा चलोस् ।’
शनिबार नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको पाेलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको पाेलमा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो ।

