विश्वकै ठूलो मिक्स मार्शल आर्ट्स (MMA) संस्था अल्टिमेट फाइटिङ च्याम्पियनसिपमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसहित भइरहेको ब्यान्टमवेट फाइनल भिडन्त अगाडि नै खेलाडीहरूबीचको वाकयुद्धले माहोल तताएको छ।
फाइनल खेलमा नेपालका युवा स्टार फाइटर रबिन्द्र धान्त र जापानका रियो ताजिमा भिड्दैछन्। यसै भिडन्तलाई लक्षित गर्दै जापानी फाइटर ताजिमाले सामाजिक सञ्जालमा “सामुराई कटाना (जापानी तरबार) भर्सेस गोर्खाली खुकुरी… हेरौँ कसले जित्छ!” भन्दै प्रतिस्पर्धात्मक अभिव्यक्ति दिएका थिए।
रबिन्द्र धान्तले सेमिफाइनलमा अस्ट्रेलियाका कासिब मर्डोक (Kasib Murdoch) लाई पराजित गर्दै ऐतिहासिक रूपमा फाइनलको यात्रा तय गरेका हुन्। अर्कोतर्फ ताजिमाले सेमिफाइनलमा जित निकाल्दै रबिन्द्रसँगको उपाधि भिडन्त पक्का गरेका थिए।

